एनआरएनएको खुला उपाध्यक्ष पदमा रोजिना प्रधान राईको उम्मेदवारी दर्ता 

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी राईले आफ्नो कार्यकाल इमान्दारी, सक्रियता र समर्पणका साथ पूरा गरेको बताउँदै पुनः नेतृत्वका लागि मैदानमा उत्रिएको जानकारी दिएकी हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनलाई सशक्त बनाउने, महिला सहभागिता बढाउने तथा विभिन्न देशमा रहेका गैरआवासीय नेपाली महिलाहरूलाई एकताबद्ध गर्ने प्रयासमा आफू निरन्तर सक्रिय रहेको बताइन्। उनले आफ्नो कार्यकालमा सबै महिला दिदीबहिनीहरूलाई सहमतिका आधारमा निर्विरोध गराउन सफल भएको उल्लेख गर्दै त्यसलाई सामूहिक एकता, विश्वास र सहकार्यको प्रतीक भएको बताइन्।

राईले आगामी दिनमा एनआरएनएलाई अझ सशक्त, प्रभावकारी र सबै गैरआवासीय नेपालीहरूको साझा संस्था बनाउने उद्देश्यसहित आफू खुला उपाध्यक्ष पदमा उम्मेदवार बनेको स्पष्ट पारिन्। विदेशमा रहेका नेपालीहरूको हकहित, पहिचान, लगानी प्रवर्द्धन तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

आगामी निर्वाचनमा आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन सहयोग र समर्थन गर्न उनले सबै गैरआवासीय नेपाली समुदायसँग आग्रह गरेकी छन्। राईले भनिन्,

“आगामी निर्वाचनमा पनि मलाई उपाध्यक्ष पदमा निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेकी छु।”

उनको उम्मेदवारीसँगै एनआरएनएको आगामी निर्वाचनका गतिविधि थप सक्रिय हुने तथा विभिन्न पदका लागि प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।

Sarita Karmakar