सरकारको कदम प्रति शाहीको समर्थन
बिराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले सरकारको पछिल्लो कदमप्रति पूर्ण समर्थन जनाएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह सँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
उनले सरकार तथा गृहमन्त्री सुधन गुरुङ ले चालेको कदम सही भएको उल्लेख गर्दै यसलाई प्रतिशोधको राजनीति भन्न नमिल्ने जिकिर गरे। “अपराध गर्ने सबैलाई पक्रिँदा सबैले प्रतिशोध भन्लान्, त्यसो भए कसैलाई नपक्रिने भन्ने हुन्छ त ?” भन्दै उनले प्रश्नसमेत उठाए।
सांसद शाहीले कानुनी कारबाहीप्रति असन्तुष्टि हुनेहरूले अदालत जाने बाटो सधैं खुला रहने पनि बताए। साथै, उनले सरकारलाई कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै हतारमा काम गर्दा प्रमाण कमजोर भएर अदालतबाट अभियुक्तले उन्मुक्ति पाउन सक्ने जोखिमतर्फ सचेत गराए।
यसैबीच, उनले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार प्रमाणित भए वर्तमान बहालवाला मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ छ।
भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूले विभिन्न आक्रमण र दुर्व्यवहार सामना गरेको स्मरण गर्दै शाहीले चितवनमा हत्या प्रयास र सुर्खेतमा कुटपिटको घटनासमेत उल्लेख गरे। “म सार्वजनिक पदमा बसेकै छैन, यो सडकमा संघर्ष गर्दा पाएको चोट हो,” उनले भने, “सरकारले अहिले अघि बढाएको कदमबाट म अत्यन्त हर्षित छु।”
