ओली पक्राउविरुद्ध एमालेको प्रदर्शन जारी, सोमबार माइतीघरमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउ र कार्यकर्तामाथिको धरपकडको विरोधमा सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

प्रहरी दमनको विरोधस्वरूप एमालेले माइतीघर मण्डला मा विशेष प्रदर्शन आयोजना गर्न लागेको हो।

एमालेका सचिव महेश बस्नेत का अनुसार भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा एमाले बागमती प्रदेशको आयोजनामा विरोध कार्यक्रम हुने छ। उनले प्रदर्शनमा सहभागी हुन आम सर्वसाधारण तथा पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

बस्नेतले बालेन शाह नेतृत्वको सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कार्यकर्तामाथि व्यापक दमन गरेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको कदम निरंकुश र अधिनायकवादी भएको टिप्पणी गरेका हुन्।

उनका अनुसार आन्दोलनको दोस्रो दिन पनि शान्तिपूर्ण प्रदर्शनमा सहभागी कार्यकर्तालाई गिरफ्तार गरिएको छ। आफ्ना माग राख्न पाउने नागरिकको अधिकारमाथि बल प्रयोग गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको उनको भनाइ छ।

यसअघि आइतबार बबरमहल क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा एक जना घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

Sarita Karmakar