भोलिदेखि एसईई परीक्षा सुरु, एक महिनाभित्र नतिजा आउने
बिराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि चैत १९ गते बिहीबारदेखि देशभर सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ बजेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालन गर्ने तयारी पूरा भएको जनाएको छ। जापानमा रहेको एक परीक्षा केन्द्रबाट समेत विद्यार्थी सहभागी हुनेछन्।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमित र ७० हजार ८५५ ग्रेडवृद्धितर्फका विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना रहेका छन्।
प्रदेशगत रूपमा कोशी प्रदेशबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, बागमतीबाट १ लाख ९ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिमबाट ५४ हजार ६३५ विद्यार्थी सहभागी हुनेछन्।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि क्रमशः चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ र २६ गते ऐच्छिक विषय तथा चैत २७–२९ गते प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।
यस वर्ष परीक्षा केन्द्रमा सामूहिक अनुगमनमा रोक लगाइएको छ। विभिन्न संघ–संस्थाका प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीको लेखनमा अवरोध भएको गुनासो आएपछि यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ। अब परीक्षा हलभित्र केन्द्राध्यक्ष र खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न पाउनेछन् भने सञ्चारकर्मीलाई बाहिरी दृश्य मात्र खिच्न अनुमति दिइनेछ।
परीक्षाका लागि सातै प्रदेशमा फरक–फरक प्रश्नपत्र तयार गरिएको छ। यदि कुनै स्थानमा प्रश्नपत्र बाहिरिएको पुष्टि भएमा सम्बन्धित प्रदेशको उक्त विषयको परीक्षा मात्र रद्द गरी पुनः परीक्षा लिने व्यवस्था गरिएको छ।
प्रत्येक परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिनेछ। केन्द्रमा औसत १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक तथा १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगीको व्यवस्था गरिनेछ।
विशेष आवश्यकता भएका विद्यार्थीका लागि अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। तीन घण्टाको परीक्षामा आवश्यक परे थप १ घण्टा ३० मिनेट समय उपलब्ध गराइनेछ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यसअघि ४५ दिनदेखि तीन महिनासम्म लाग्ने नतिजा प्रकाशन प्रक्रिया यस वर्ष छोट्याइएको छ।
