निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयप्रति बस्नेतको कडा आपत्ति

बिराटनगर । पूर्व प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त निर्णयलाई “मिडियामाथि छुरा प्रहार” भएको संज्ञा दिएका छन्।

बस्नेतका अनुसार यस्तो कदमले देशभर सञ्चालनमा रहेका सयौं पत्रपत्रिका, सामुदायिक रेडियो तथा अनलाइन मिडियामा प्रत्यक्ष असर पार्नेछ। उनले यसलाई मिडिया क्षेत्रमाथिको आर्थिक नाकाबन्दी सरहको अवस्था सिर्जना गर्ने चेतावनी दिए।

सरकारले मिडिया क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। “विज्ञापनमा रहेका विकृति र भ्रष्टाचार नियन्त्रण गर्न सुधार आवश्यक थियो, तर विज्ञापन नै रोक्नु समाधान होइन,” बस्नेतले भने।

उनले उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै मिडियाको अस्तित्व जोगाउन सरकार गम्भीर बन्नुपर्ने बताए। साथै, मिडिया सशक्त हुँदा मात्रै सरकारलाई जिम्मेवार बनाउन सकिने र नागरिकको आवाज प्रभावकारी रूपमा उठ्न सक्ने उनको भनाइ छ।

Sarita Karmakar