गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथ दर्शन, शान्ति र समृद्धिको कामना

बिराटनगर।‌सुधन गुरुङ ले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना तथा दर्शन गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ पुगेका हुन्।

आज हनुमान जयन्ती को अवसर पारेर मन्दिर पुगेका गुरुङले दर्शनसँगै मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका छन्। सो अवसरमा उनले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्।

हनुमान जयन्ती हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस दिन हनुमान को जन्म भएको विश्वास गरिन्छ। शक्ति, भक्ति, साहस र निष्ठाको प्रतीक मानिने हनुमानको पूजा–अर्चना, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम देशभर आयोजना हुने परम्परा छ।

यस अवसरमा पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो। सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने गृहमन्त्रीको उपस्थितिका कारण सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए।

दर्शनपश्चात् गृहमन्त्री गुरुङले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाबारे सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशन दिएका छन्। सो क्रममा पशुपति क्षेत्र विकास कोष का पदाधिकारीहरूले मन्दिर क्षेत्रको वर्तमान अवस्था, चुनौती र भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए।

गुरुङले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनकाे आजको पशुपतिनाथ दर्शनलाई धार्मिक आस्था र सांस्कृतिक सम्मानसँगै सकारात्मक सन्देश दिने कदमका रूपमा हेरिएको छ।

Sarita Karmakar