नेपाली कांग्रेसमा ३०० युवा प्रवेश, गुरुराज घिमिरेको पक्षमा उत्साहजनक समर्थन

बिराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन पारेर नेपाली कांग्रेसमा ३०० जना युवाहरू प्रवेश गरेका छन्। युवा परिचालन समितिका प्रमुख तथा समाजसेवी अभिषेक गिरीको नेतृत्वमा उनीहरू पार्टीमा आवद्ध भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेलाई विजयी बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको सहभागिताले चुनावी माहोल थप उत्साहित र ऊर्जावान बनेको बताइएको छ।

युवा परिचालन समितिका प्रमुख गिरीले युवाहरूको बढ्दो आकर्षणले परिवर्तन र विकासप्रतिको विश्वास झल्किएको उल्लेख गरे। उनले युवाशक्तिको सक्रियताले निर्वाचनमा सकारात्मक परिणाम ल्याउने दाबी समेत गरे।

यसअघि पनि गिरीकै नेतृत्वमा ठूलो संख्यामा युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरिसकेका थिए। पछिल्लो प्रवेशले चुनावी अभियानलाई थप बल पुगेको कांग्रेसले जनाएको छ।

Sarita Karmakar