केएमसी पुगेर गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझे
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले काठमाडौँ मेडिकल कलेज (केएमसी) पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शुक्रबार बिहान मन्त्री गुरुङले अस्पतालमै पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेलगत्तै उनी सिधै केएमसी पुगेका थिए।
सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरिएकोमा केएमसीका सञ्चालक डा. सुनिल शर्मा लाई उनले धन्यवाद दिएका छन्। मन्त्री गुरुङले घाइतेहरूको उपचारमा अस्पतालले खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए।
अस्पतालका अनुसार धेरैजसो घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको छ।
गृहमन्त्री गुरुङले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
