डोनाल्ड ट्रम्पको दाबी : इरान प्रदर्शनमा ३२ हजारको मृत्यु, सीमित सैन्य विकल्पमाथि छलफल
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनका क्रममा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन्। उनले उक्त दाबी पहिलो पटक शुक्रबार वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा गरेका हुन्।
पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “उनीहरूले एक उचित सम्झौता गर्न आवश्यक छ। इरानका नागरिक आफ्ना नेताहरूभन्दा फरक छन् र अत्यन्तै दुःखद् स्थितिमा छन्। त्यहाँ थोरै समयमा ३२ हजार नागरिक मारिएका छन्।”
ट्रम्पले इरान सरकारले ८३७ जनालाई फाँसी दिने निर्णय गरेको र अमेरिकाको चेतावनीपछि उक्त निर्णय रोकिएको पनि जिकिर गरे। उनका अनुसार, “उनीहरू ८३७ जनालाई फाँसी दिनेवाला थिए। मैले भनेँ—यदि एक जनालाई पनि फाँसी दिइयो भने तुरुन्त निशाना बनाइनेछ। त्यसपछि उनीहरूले फाँसी रोके।”
यसैबीच, राष्ट्रपतिसँग इरानमाथि सम्भावित आक्रमणबारे पनि प्रश्न सोधिएको थियो। जवाफमा उनले इरानमाथि सीमित सैन्य आक्रमणको विकल्पबारे आन्तरिक रूपमा विचार–विमर्श भइरहेको बताएका छन्।
ट्रम्पको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समुदायमा थप चासो र बहस सुरु भएको छ।
