उत्तर कोरियाली नेता किम जोङ उन द्वारा जीवनस्तर सुधार्ने प्रतिबद्धत

बिराटनगर । उत्तर कोरियाली नेता किम जोङ उन ले जनताको जीवनस्तर सुधारलाई सरकारको प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। सत्तारुढ दलको महत्त्वपूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक निर्माण, खाद्य सुरक्षा र आधारभूत सेवाको विस्तारमा जोड दिने बताएका हुन्।

पाँच वर्षमा एक पटक आयोजना हुने पार्टीको महाधिवेशनमा रक्षा, कूटनीति र अर्थतन्त्रसम्बन्धी नीतिगत दिशानिर्देश तय गरिन्छ। उद्घाटन मन्तव्यमा किमले विगतका चुनौतीपूर्ण वर्षहरू पार गर्दै देश अब नयाँ आत्मविश्वासका साथ अगाडि बढ्ने दाबी गरे।

दशकौँदेखि आणविक कार्यक्रम र सैन्य शक्तिलाई प्राथमिकतामा राख्दै आएको उत्तर कोरियाले पछिल्ला वर्षहरूमा खाद्य अभाव र आर्थिक कठिनाइ झेल्दै आएको छ। सन् २०११ मा सत्तामा आएपछि किमले सैन्य क्षमता सुदृढ राख्दै आर्थिक सुधारमा समेत ध्यान केन्द्रित गर्ने नीति अघि सारेका छन्।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले महाधिवेशनका निर्णयहरूलाई चासोपूर्वक हेरिएको जनाएका छन्। विशेषगरी आणविक कार्यक्रम तथा दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्धबारे सम्भावित सन्देशहरूलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ। यद्यपि, उद्घाटन भाषणमा किमले ती विषयमा स्पष्ट टिप्पणी गरेका थिएनन्।

सरकारी सञ्चारमाध्यमका अनुसार आगामी दिनहरूमा आर्थिक पुनरुत्थान र जनजीवन सुधारका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Sarita Karmakar