इरान–अमेरिका युद्धविराम सहमतिः तेल मूल्यमा गिरावट, सेयर बजार उकालो
बिराटनगर । इरान र अमेरिका बीच तत्काल युद्धविराममा सहमति भएपछि विश्व बजारमा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ भने सेयर बजारमा सकारात्मक सुधार देखिएको छ।
युद्धविरामको खबरसँगै अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ। हाल अमेरिकी कच्चा तेल प्रति ब्यारेल ९६.२७ डलरमा झरेको छ भने ब्रेन्ट कच्चा तेल ९३.४८ डलरमा कारोबार भइरहेको छ।
यसअघि डोनाल्ड ट्रम्प ले इरानले दुई हप्ताको युद्धविराम र हर्मुज जलमार्ग पुनः सञ्चालन गर्न सहमत भएमा आक्रमण रोक्ने बताएका थिए। त्यसपछि इरानले प्रस्ताव स्वीकार गर्दै जलमार्ग खुला गर्ने निर्णय गरेको हो।
युद्धविरामको सहमतिसँगै एसियाली सेयर बजारमा पनि उछाल आएको छ। निक्केई र कोस्पी दुवै सूचकांकमा वृद्धि देखिएको छ।
यसअघि ट्रम्पको कडा अभिव्यक्तिपछि बजारमा अनिश्चितता बढेको थियो। तर शहबाज शरीफ ले समयसीमा बढाउन र इरानलाई जलमार्ग खोल्न आग्रह गरेपछि कूटनीतिक पहल सफल भएको देखिएको छ।
युद्धविरामको प्रभाव स्वरूप ऋणको ब्याजदर निर्धारण गर्ने ट्रेजरी प्रतिफलमा पनि केही गिरावट आएको छ। दीर्घकालीन रूपमा द्वन्द्व जारी रहेमा विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब बढ्ने चिन्ता रहे पनि हालको सहमतिले लगानीकर्तालाई केही राहत दिएको विश्लेषण गरिएको छ। एजेन्सी
