चैत्र २८ बाट बिराट गोल्डकप आयोजना हुदै
बिराटनगर। चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ ।
वैशाख ५ सम्म हुने प्रतियोगिताबारे जानकारी दिँदै आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीको सामना गर्ने छ ।
त्यसैगरी, ट्रफीसहित ११ लाख रूपैयाँ हात पार्ने गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मुख्य प्रायोजन गरिरहेको गोल्डकपको दोस्रो खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइजसँग स्पर्धा गर्ने छ ।
साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति रहने गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने प्रवक्ता लामाले जानकारी दिए । सहिद मैदानमा हुने दिवारात्री खेलका लागि मैदान तयारीको काम भइरहेको बताएका प्रवक्ता लामाले गोल्डकपको प्रवद्र्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर, राष्ट्रिय खेलकुद परिषद् रहेका छन् ।
२०१८ सालबाट सुरू भएको महेन्द्र गोल्डकप २०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको हो । ट्रष्टले भने यस पटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८ औं संस्करणका रूपमा गणना गर्ने जनाएको छ । गोल्डकपको अघिल्लो संस्करणमा थ्रीस्टारले चर्च व्वाइजलाई २–० ले पराजित गर्दै समग्रमा दोस्रो पटक उपाधि जितेको थियो । थीस्टारले गोल्डकपको पाँचौं संस्करणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
