भन्सार छलीका अवैध पेय पदार्थ बरामद, पसल सञ्चालक नियन्त्रणमा
सुनवर्षी । प्रहरीले भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएका अवैध पेय पदार्थहरू बरामद गरेको छ।
मिति २०८२ चैत २४ गते दिउँसो करिब २ बजे मोरङको सुनबर्षी नगरपालिका–२ अमरदह बजारस्थित पारस किराना पसलमा विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। चेकजाँचका क्रममा पसल सञ्चालक पारस साहले आफ्नै घर–पसलमा गोदाम बनाई बिलबिजक बिना राखिएका विभिन्न ब्रान्डका पेय पदार्थ फेला परेका हुन्।
प्रहरीले कोक, माउण्टेन डिउ, स्प्राइट र पेप्सी लगायतका पेय पदार्थ बरामद गर्दै साहलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामानमध्ये १ लिटर र २.५ लिटरका कोक, माउण्टेन डिउ, स्प्राइट तथा साना साइजका बोतलहरू समेत गरी कुल १७१ कार्टुन रहेका छन्। ती सामानको अनुमानित मूल्य रु. १ लाख ४५ हजार २०० रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
