बिराटनगरमा सातौँ साइक्लोथोन भव्य रूपमा सम्पन्न, संकलित रकमबाट शौचालय निर्माण गरिने
बिराटनगर । शनिबार यहाँ सातौँ संस्करणको साइक्लोथोन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा भएको उक्त प्रतियोगिता बिहान ७ बजेदेखि बिराटनगरस्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु भई १५ किलोमिटर दूरीमा सम्पन्न भएको हो।
साइक्लोथोनलाई तीन श्रेणीमा विभाजन गरिएको थियो। पुरुषतर्फ ‘गियर’ र ‘नन–गियर’ विधामा प्रतिस्पर्धा गराइएको थियो भने महिलातर्फ खुला गियर प्रतिस्पर्धा गरिएको थियो।
गियर (महिला) तर्फ शालिनी कुमारी (भारत) ले ३३ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। निक्की लिम्बु दोस्रो र भावना घिमिरे तेस्रो भइन्।
गियर (पुरुष) तर्फ दीप सागर तामाङ ले २० मिनेटमा दूरी पार गर्दै प्रथम भए भने किरण राई दोस्रो र बादल लिम्बु तेस्रो स्थानमा रहे।
नन–गियर (पुरुष) तर्फ साहिल नेपाली ३० मिनेटमा प्रथम भए। अंकित त्रिके दोस्रो र सेमाङ लिम्बु तेस्रो भए।
प्रतियोगितामा पुरुषतर्फ (गियर तथा नन–गियर) प्रथम हुनेलाई रु १५,०००, द्वितीयलाई रु १०,००० र तृतीयलाई रु ७,००० नगद पुरस्कार प्रदान गरिएको थियो। महिलातर्फ पनि सोही दरमा पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। साथै, सहभागीहरूमध्ये १० जनालाई लक्की ड्रमार्फत जनही रु २५,००० प्रदान गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रमबाट संकलित रकम कटहरी गाउँपालिका–४ स्थित ऋषिदेव बस्तीमा ५० वटा शौचालय निर्माण गर्न खर्च गरिनेछ। साथै इच्छुक व्यक्तिहरूले पनि उक्त अभियानमा सहयोग गर्न सक्ने बताइएको छ।
प्रतियोगितामा २०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा वन तथा वातावरण मन्त्री भिम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए।

