ओलीमाथिको मुद्दा फिर्ता लिन सांसद घतानीको जोडदार माग

बिराटनगर । नेकपा (एमाले)की सांसद नीता घतानी ले पार्टी अध्यक्ष केपी शर्मा ओली माथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त मुद्दा राजनीतिक प्रतिशोधका आधारमा लगाइएको आरोप लगाइन्। उनले भनिन्, “अध्यक्ष ओलीमाथि लगाइएका मुद्दा तुरुन्त फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछु। यस्तो कार्यले राजनीतिक मर्यादा र संविधानको मर्म कमजोर बनाउँछ।”

सांसद घतानीका अनुसार सरकारले संविधान र कानुनको भावनाविपरीत कार्य गर्दै प्रमुख प्रतिपक्षी नेतालाई लक्षित गरेर मुद्दा दायर गरेको छ। उनले संविधानको मर्मअनुसार उक्त मुद्दा खारेज हुनुपर्नेमा जोड दिइन्।

उनले सरकारलाई सचेत गराउँदै राजनीतिक पूर्वाग्रहका आधारमा विपक्षी नेतृत्वमाथि कारबाही गर्नु संसदीय लोकतन्त्रका लागि घातक हुने तर्क प्रस्तुत गरिन्।

Sarita Karmakar