३८औं विराट गोल्डकप चैत २८ देखि सुरु हुने, ८ टोली प्रतिस्पर्धामा
विराटनगर । ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता यही चैत २८ गते शनिबारदेखि विराटनगरमा सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल खेल २०८३ वैशाख ५ गते शनिबार सम्पन्न हुनेछ।
विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष प्रतियोगिता आफैंले आयोजना गर्ने र कुल लागत करिब १ करोड ५ लाख रुपैयाँ रहने जानकारी दिएको छ।
प्रतियोगिताको टाइटल स्पोन्सर विराटनगरस्थित नोबेल मेडिकल कलेज रहेको छ। कलेजले प्रतियोगितालाई सफल बनाउन ११ लाख रुपैयाँ सहयोग गरेको ट्रष्टले जनाएको छ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगितामा नेपालका ७ र भारतका १ गरी कुल ८ टिमको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड, सम्राट फुटबल क्लब विराटनगर, झापा–११ फुटबल क्लब तथा भारतको अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमी रहेका छन्।
विजेता टोलीले ११ लाख रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। सबै खेल विराटनगरस्थित शहीद रंगशालामा साँझ ६ बजेदेखि फ्लडलाइटमा सञ्चालन गरिनेछ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा ट्रष्टका ट्रष्टी राजेन्द्र राउतले प्रतियोगिता घाटामा गए केही प्रतिशत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
