खार्ग टापुमा अमेरिकी–इजरायली आक्रमणको खबर, इरानमा विस्फोटको आवाज
इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा पटक–पटक आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।’
एक पत्रकारले सामाजिक सञ्जालमार्फत एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेका छन् कि अमेरिकाले उक्त टापुमा रहेका सैन्य लक्ष्यहरूलाई निशाना बनाएर आक्रमण गरेको हो। यसैबीच, एक अमेरिकी समाचारपत्रले पनि ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानको नागरिक पूर्वाधार नष्ट गर्ने चेतावनी बारम्बार दिँदै आएका थिए। मंगलबार उनले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
खार्ग टापु इरानको तेल निर्यात प्रणालीको मुख्य केन्द्र हो, जुन देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। यो टापु रणनीतिक रूपमा होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क लगायतका महत्वपूर्ण पूर्वाधार रहेका छन्।
यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, तर उक्त आक्रमणमा तेलसम्बन्धी संरचनामा क्षति नपुगेको बताइएको थियो।
