बिराटनगरमा सातौँ साइक्लोथोन हुँदै, ५०० सहभागी लक्ष्य

बिराटनगर। बिराटनगरमा सातौँ संस्करणको साइक्लोथोन प्रतियोगिता आयोजना हुने भएको छ। रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा हुने उक्त कार्यक्रम आगामी ४ अप्रिल (चैत २१) मा सञ्चालन गरिनेछ।

कार्यक्रम बिहान ६ बजेदेखि बिराटनगरस्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु हुने र १५ किलोमिटर सम्मको तय गरिएको छ। यद्यपि प्रतियोगिताको रुट भने हालसम्म निर्धारण भइनसकेको आयोजकले जनाएको छ।

प्रतियोगितामा बिराटनगर, इटहरी, धरान र दुहवी क्षेत्रका खेलाडीलाई विशेष प्राथमिकता दिइएको छ। करिब ५०० जना प्रतिस्पर्धी सहभागी गराउने लक्ष्य रहेको क्लबकी अध्यक्ष सोनिया गुप्ता चौधरीले जानकारी दिइन्।

साइक्लोथोनलाई तीन श्रेणीमा विभाजन गरिएको छ। पुरुषतर्फ ‘गेयर’ र ‘नन–गेयर’ विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला प्रतिस्पर्धा गराइनेछ।

पुरुषतर्फ (गेयर तथा नन–गेयर) प्रथम हुनेले रु १५,०००, द्वितीयले रु १०,००० र तृतीयले रु ७,००० पुरस्कार पाउनेछन्। महिलातर्फ पनि यही दरमा नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुनका लागि रु १,००० दर्ता शुल्क तोकिएको छ। विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिइनेछ, जसका लागि विद्यार्थी परिचयपत्र अनिवार्य हुनेछ। साथै सहभागीहरूमध्ये १० जनालाई लक्की ड्रमार्फत जनही रु २५,००० प्रदान गरिनेछ।

दर्ता बिराटनगरको जलजला चोकस्थित आगन स्वीट्समा प्रत्यक्ष रूपमा गर्न सकिनेछ भने इसेवा मार्फत अनलाइन दर्ताको व्यवस्था पनि गरिएको छ। प्रतियोगितामा १५ वर्ष उमेर पूरा गरेका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा सहभागीहरूलाई टी–सर्ट, जुत्ता, जुस तथा खाजा–पानीको व्यवस्था गरिने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजक साङ्ग्रिला रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स रहेको छ।

यस कार्यक्रमबाट संकलित रकम कटहरी गाउँपालिका–४ स्थित ऋषिदेव बस्तीमा ५० वटा शौचालय निर्माण गर्न खर्च गरिने अध्यक्ष चौधरीले जानकारी दिईन्। यसका साथै इच्छुक व्यक्तिले शौचालय निर्माणमा सेवा पुर्याउन सक्ने उनले बताइन्।

Sarita Karmakar