आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै
आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा भक्तजनहरूले हनुमानको पूजाआराधना गर्ने परम्परा रहेको छ।
धार्मिक विश्वासअनुसार यस दिन हनुमान को पूजा गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख–सङ्कटबाट मुक्ति पाइने मान्यता छ। यस अवसरमा हनुमानढोका दरबार, पशुपतिनाथ मन्दिर तथा गोकर्णेश्वरस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना भइरहेको छ।
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर ‘हनुमान’ शब्द बनेको मानिन्छ, जसको अर्थ वेगवान् शक्ति वा आज्ञापालक भन्ने हुन्छ। धार्मिक ग्रन्थहरूमा राम का परम भक्तका रूपमा हनुमानको विशेष महत्त्व रहेको उल्लेख छ।
धार्मिक मान्यताअनुसार हनुमानलाई वायुका पुत्र (पवनपुत्र) मानिन्छ र उनीसँग विभिन्न यौगिक शक्ति रहेको विश्वास गरिन्छ। भक्तियोग र कर्मयोगमार्फत भगवान् रामको निकटता प्राप्त गरेका हनुमानलाई ‘संकट मोचक’ तथा ‘मङ्गलमूर्ति’का रूपमा पूजा गरिन्छ।
यस अवसरमा भक्तजनहरूले नदी तथा तीर्थस्थलमा स्नान गरी व्रत बस्ने, हनुमान चालिसा पाठ गर्ने तथा मन्दिरहरूमा दर्शन गर्ने गरेका छन्। देशभरका विभिन्न स्थानमा शोभायात्रा निकाल्ने र विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा पनि रहेको छ।
