देशभर शान्तिपूर्ण रूपमा एसइई परीक्षा सुरु
देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रूपमा सुरु भएको छ। यस वर्ष एक हजार ९६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ। यस वर्ष परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्, जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्।
विदेशमा समेत परीक्षा सञ्चालन गरिएको छ। जापान मा रहेको एक परीक्षा केन्द्रमा २३ जना विद्यार्थी सहभागी भएका छन्।
तीन घण्टाको परीक्षामा अपाङ्गता भएका विद्यार्थीका लागि थप एक घण्टा ३० मिनेट समयको व्यवस्था गरिएको छ। साथै, उनीहरूलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेका व्यक्तिलाई सहयोगी राख्न अनुमति दिइएको छ।
सम्बन्धित निकायका अनुसार देशभर परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।
