ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार प्रकरण : गृहमन्त्री गुरुङ घरमै पुगेर भेट्न पुगे
काठमाडौं । सुदन गुरुङ ले नेकपा (एमाले) का कार्यकर्ताबाट सडकमा दुर्व्यवहार खेपेका ज्येष्ठ नागरिकलाई उनकै निवासमै पुगेर भेट गरेका छन्।
आइतबार लगनखेल स्थित पाटन मानसिक अस्पताल अगाडि हिँडिरहेका ती ज्येष्ठ नागरिकमाथि एमाले कार्यकर्ता रामशरण शर्मा बजगाईं लगायतको समूहले अभद्र व्यवहार गरेका थिए।
मंगलबार गृहमन्त्री गुरुङले पीडितको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै घटनाबारे जानकारी लिएका हुन्। भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्ने आश्वासन दिएका छन्।
“हरेक नागरिकलाई स्वतन्त्र र सुरक्षित रूपमा हिँडडुल गर्ने अधिकार छ। शान्तिपूर्ण नागरिकमाथि हुने यस्ता अमानवीय व्यवहार सरकारलाई किमार्थ स्वीकार्य छैन,” मन्त्री गुरुङले भने, “दोषीलाई पक्राउ गरिसकेका छौं र उनीमाथि कडा कानुनी कारबाही हुनेछ।”
प्रहरीका अनुसार केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनका क्रममा ३० वर्षीय बजगाईंले उक्त दुर्व्यवहार गरेका थिए। घटनापछि उनलाई गोदावरी नगरपालिका–१० बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान अघि बढाइएको छ।
