वृद्धभत्ता ७० वर्षमै कायम राख्न हर्क साम्पाङको माग
बिराटनगर । सांसद हर्क साम्पाङले वृद्धभत्ता पाउने उमेर ७० वर्षमै कायम राख्नुपर्ने बताएका छन्। सामाजिक सुरक्षाका सेवासुविधा कटौती गर्नुको सट्टा अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले ७५ वर्ष पुर्याउने प्रस्ताव उचित नहुने बताएका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वृद्धभत्ता बढाउने वा घटाउनेभन्दा पनि नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्।
“वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुन्छ। ७५ पुर्याउनु राम्रो हुँदैन। यस्ता सामाजिक सुरक्षाका सेवासुविधा कटौती होइन, थप्नुपर्छ,” उनले भनेका छन्।
उनको भनाइले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै ज्येष्ठ नागरिकको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।
