ओली र लेखक पक्राउको विरोधमा काठमाडौंमा झडप, बबरमहल तनावग्रस्त

बिराटनगर। केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबीच काठमाडौंको बबरमहल क्षेत्रमा झडप भएको छ।

शनिबार दिउँसो माइतीघर मण्डलाबाट निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि काठमाडौं जिल्ला अदालत अगाडि तनाव उत्पन्न भएको हो।

आफ्ना पार्टी अध्यक्षलाई शनिबार बिहानै पक्राउ गरिएको विरोधमा एमालेका २३ वटै जनसंगठनहरूले एकीकृत रूपमा माइतीघरमा प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनकारीहरूले बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गरेका छन्।

उनीहरूले माइतीघरमा राखिएको प्रहरी ब्यारिकेड भत्काएर अघि बढेपछि निषेधाज्ञा तोड्दै आक्रोशित भीड बानेश्वरतर्फ लागेका थिए। भीड नियन्त्रणका लागि प्रहरीले धरपकड सुरु गरेपछि बबरमहल क्षेत्रमा घम्साघम्सी भएको हो।

झडपका कारण जिल्ला अदालत अगाडि स्थिति थप तनावग्रस्त बनेको छ भने माइतीघर–बानेश्वर सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित थप झडपलाई ध्यानमा राख्दै सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Sarita Karmakar