ओलीलाई पक्राउ गरेको आपत्ति जनाउँदै देश भर आन्दोलन गर्न तयारी
काठमाडौँ । केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै नेकपा एमालेले उनको तत्काल रिहाइको माग गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले ओलीको पक्राउलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
बैठकको निर्णयअनुसार आज दिउँसो ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, भोलि (चैत्र १५ गते) सबै जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने जनाएको छ। पार्टीले वर्तमान घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने संकेत पनि गरेको छ।
एमाले सचिवालयका प्रमुख निर्णयहरू:
ओलीको रिहाइको माग गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने
आज अपराह्न ३ बजे देशभरका सदरमुकाममा विरोध प्रदर्शन गर्ने
भोलि चैत्र १५ गते सबै जिल्लामा प्रदर्शनसहित CDO कार्यालयमा विरोधपत्र बुझाउने
लोकतन्त्र पक्षधर दल, नागरिक समाज र आम जनतासँग सहकार्य गर्ने
