मोरङ–४ मा तरुण दलद्वारा संगठन विस्तार, कटहरीमा संयोजक तोकियो

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मोरङ क्षेत्र नम्बर ४ अन्तर्गत कटहरी गाउँपालिकामा चुनाव प्रचार–प्रसार अभियान तीव्र बनाएको छ। सोही क्रममा तरुण परिचालन समितिको संरचना निर्माण गरिएको छ।

केन्द्रीय सदस्य जय पासवानको उपस्थितिमा सम्पन्न भेलाले गाउँपालिका संयोजकसहित सातवटै वडामा संयोजक तोक्ने निर्णय गरेको हो। गाउँपालिका संयोजकमा अजय पासवान चयन भएका छन्।

त्यसैगरी वडा नं. १ देखि ७ सम्म क्रमशः राज नारायण माझी, सुदिप राजबंशी, विकेश कुमार मण्डल, अनिस सेख मिया, प्रविण मिश्र, कार्तिकचन सरदार र कृष्ण बहादुर राउतलाई जिम्मेवारी प्रदान गरिएको छ।

नेपाल तरुण दल मोरङ–४ का निर्वाचन परिचालन तथा प्रचार–प्रसार संयोजक सन्तोष महत (स्यान्ट्रो)ले निर्वाचनलाई लक्षित गर्दै तरुण शक्तिलाई संगठित र योजनाबद्ध ढंगले परिचालन गरिने बताए। मोरङ–४ मा कांग्रेसप्रति सकारात्मक जनमत देखिएकाले त्यसलाई मतमा रूपान्तरण गर्न टोल–टोलमा तरुण दल परिचालन गरिने उनको भनाइ छ।

उनका अनुसार घरदैलो अभियान, युवा अन्तरक्रिया, मतदाता भेटघाट तथा तथ्यमा आधारित प्रचार कार्यक्रममार्फत भ्रम चिर्ने रणनीति बनाइएको छ।

“तरुण दल अनुशासित, संयमित र मुद्दा केन्द्रित ढंगले अघि बढ्छ,” उनले भने, “लोकतन्त्रको सुदृढीकरण र विकासको निरन्तरताका लागि कांग्रेसको विजय आवश्यक छ भन्ने सन्देश घर–घर पुर्‍याइनेछ।”

निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ–४ मा विभिन्न दलबीच संगठन विस्तार र जनसम्पर्कको प्रतिस्पर्धा बढ्दै गएको छ। कटहरी गाउँपालिकामा तरुण दलको सक्रियता त्यसकै एक चरणका रूपमा हेरिएको छ।

Sarita Karmakar