स्याङ्जामा २४ उम्मेदवारमध्ये नौ जनाले मात्रै खोले चुनावी बैङ्क खाता
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका २४ उम्मेदवारमध्ये हालसम्म नौ जनाले मात्रै छुट्टै चुनावी बैङ्क खाता खोलेका छन्। स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन्।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार २४ उम्मेदवारमध्ये १७ जनाले बैङ्क खाता खोल्न सिफारिस लगिसकेका भए पनि हालसम्म नौ जनाले मात्रै खाता सञ्चालनमा ल्याएको जानकारी कार्यालयमा प्राप्त भएको छ।
निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्राप्त गर्ने आर्थिक सहयोग र खर्चलाई पारदर्शी बनाउन छुट्टै बैङ्क खाता अनिवार्य गरिएको हो। तोकिएको खर्च सीमाभित्र रही आम्दानी–खर्चको विवरण सोही खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख थापाले बताए।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एवं आर्थिक कारोबार आचारसंहिता अनुगमन अधिकृत थमनारायण अर्यालका अनुसार चुनावी खर्चलाई पारदर्शी र नियन्त्रणयोग्य बनाउन उम्मेदवारलाई छुट्टै बैङ्क खाता खोल्न निर्देशन दिइएको हो। “यस पटक २४ उम्मेदवारमध्ये १७ जनाले खाता खोल्न सिफारिस लगिसक्नुभएको छ,” अर्यालले भने, “उम्मेदवार तथा दलहरूलाई छिटो खाता खोल्न ताकेता गरिरहेका छौं र सहजीकरण पनि भइरहेको छ।”
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले २५ हजार रुपैयाँभन्दा बढीको नगद कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था छ। सहयोगदाताबाट प्राप्त रकम तथा गरिएको सम्पूर्ण खर्च बैङ्कमार्फत गर्नुपर्ने र सोको गोप्य अनुगमन भइरहेको अर्यालले जानकारी दिए।
हालसम्म स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारले गरेको खर्चबारे कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले न्यूनतम २५ लाखदेखि अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान छ। स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवारका लागि अधिकतम ३१ लाख र क्षेत्र नम्बर २ का लागि २९ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिएको छ।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। निर्वाचन सकिएपछि उक्त चुनावी बैङ्क खाता निर्वाचन आयोगले बन्द गर्नेछ।
