एमालेको झण्डा जलाइएको आरोपमा थप दुई जना पक्राउ
बिराटनगर । दाङको तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो।
यसअघि सोही प्रकरणमा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नै पक्राउ गरिएको थियो। प्रहरीका अनुसार झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ भने अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।
दाङको घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रवि लामिछाने र बालेन्द्र शाह आउने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा समर्थकहरूको भीड जम्मा भएको थियो। सोही क्रममा एमालेको झण्डा जलाइएको बताइएको छ।
उक्त घटनाप्रति एमालेले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
