मोरङ–५ मा क. मनोजकुमार अग्रवालद्वारा प्रतिबद्धता–पत्र सार्वजनिक

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार क. मनोजकुमार अग्रवालले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

लामो समयदेखि पार्टी र जनताको पक्षमा सक्रिय रहँदै आएका अग्रवालले क्षेत्र नं. ५ लाई विकासको मूलधारमा ल्याउने मुख्य लक्ष्यसहित पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुशासन र सामाजिक न्यायका विविध कार्यक्रम अघि सारेका छन्।

पूर्वाधार र सडक विकास प्राथमिकतामा

उम्मेदवार अग्रवालले रंगेली–विराटनगर हुलाकी मार्गलाई स्तरोन्नति गरी नमुना मार्गका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै दक्षिणी सीमा क्षेत्रमा नयाँ सडकमार्ग निर्माण, विभिन्न वडामा कालोपत्रे सडक, ढल निकास, स्वच्छ खानेपानी र विद्युतीकरण पाँच वर्षभित्र सम्पन्न गर्ने योजना प्रस्तुत गरिएको छ।

क्षेत्रको द्रुत विकासका लागि “क्षेत्रीय विकास तथा पुनःनिर्माण कोष” स्थापना गर्ने घोषणा पनि उनले गरेका छन्।

कृषि र सिँचाइमा विशेष जोड

धनपालथान र जहदा गाउँपालिकालाई विशेष कृषि जोनका रूपमा विकास गर्ने, सिँचाइ विस्तार, डिप बोरिङ्ग, मल–बीउको सहज उपलब्धता तथा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने योजना अघि सारिएको छ।

शिक्षा र स्वास्थ्यमा सुधार

क्षेत्रका सबै सामुदायिक विद्यालयको स्तरोन्नति, आधुनिक भवन, कम्प्युटर र इन्टरनेट व्यवस्था गर्ने तथा प्रत्येक पालिकामा नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ।

रंगेली अस्पताललाई सुविधासम्पन्न बनाउने, थप अस्पताल र प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रममा विपन्न वर्गलाई निःशुल्क सहभागी गराउने योजना पनि समावेश गरिएको छ।

उद्योग, रोजगारी र आईटी हब

विराटनगरको रानी क्षेत्रका बन्द उद्योगहरू पुनःसञ्चालन गर्न “विराट औद्योगिक क्षेत्र” घोषणा गर्ने पहल गरिने अग्रवालले बताए। कृषि तथा साना उद्योग प्रवर्द्धन, युवालाई सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

विशेषगरी विराटनगर र रंगेली क्षेत्रलाई आईटी हबका रूपमा विकास गरी युवालाई रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ।

धार्मिक, सांस्कृतिक र पर्यटन विकास

क्षेत्रभित्रका धार्मिक स्थलहरूको संरक्षण र स्तरोन्नति, सांस्कृतिक संग्रहालय स्थापना तथा पर्यटन प्रवर्द्धनका लागि रिङरोड निर्माण गर्ने योजना अघि सारिएको छ। ऐतिहासिक स्थलहरूको पुनःनिर्माण र व्यवस्थित विकासमा विशेष पहल गरिने जनाइएको छ।

सुशासन र सामाजिक न्याय

सीमावर्ती क्षेत्रमा सुरक्षा चौकी विस्तार, सुदखोरी र भ्रष्टाचार नियन्त्रण, निःशुल्क कानुनी परामर्श सेवा तथा नागरिकता समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

उम्मेदवार अग्रवालले पार्टीको “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षालाई साकार पार्न आफू जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेका छन्।

मोरङ–५ लाई जिल्लाकै पिछडिएको क्षेत्रबाट समुन्नत र समृद्ध क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी रहेको अग्रवालले बताएका छन्।

Sarita Karmakar