नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सामान्य गिरावट

बिराटनगर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ८.१६ अङ्कले घटेर २,६६२.९१ बिन्दुमा कायम भएको छ।

आज ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा कुल रु ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा वित्त समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन ०.४३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशतले बढेको छ। यद्यपि अन्य सबै समूहका उपसूचकमा गिरावट देखिएको छ।

बैंक समूह ०.०५ प्रतिशत, विकास बैंक ०.४६ प्रतिशत, जलविद्युत् १.०२ प्रतिशत, लगानी ०.६० प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, लघुवित्त ०.२३ प्रतिशत, म्युचुअल फन्ड ०.२१ प्रतिशत, निर्जीवन बीमा ०.४६ प्रतिशत, व्यापार ०.६८ प्रतिशत र अन्य समूह ०.०७ प्रतिशतले घटेका छन्।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ, जसको शेयर मूल्य ९.३८ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ६५ करोड ३ लाख २२ हजार १६३ बराबरका २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ।

Sarita Karmakar