पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुग्यो
बिराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावलाई कारण देखाउँदै निगमले नयाँ मूल्यसूची लागू गरेको हो।
निगमका अनुसार बिहीबार राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५/२५ रुपैयाँका दरले मूल्य बढाइएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा नघटेकाले मूल्य वृद्धि गर्न बाध्य भएको जनाएको छ। निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि प्रत्येक पन्ध्र दिनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको छ।
