विराटनगरमा महेन्द्रको शालिक पुनःस्थापना गरिने

विराटनगर ।  विराटनगरस्थित महेन्द्र चोकमा पूर्व राजा महेन्द्रको शालिक पुनःस्थापना गरिने भएको छ।

सनातन युवा मञ्च नेपालका अध्यक्ष नवराज ढकालका अनुसार आगामी जेठ ३० गतेभित्र शालिक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार पंचधातुबाट निर्माण गरिने उक्त शालिकका लागि करिब १० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

ढकालले विगतमा स्थानीयवासीले हटाएको उक्त शालिकको महत्व अहिले बुझ्दै पुनःस्थापना गर्ने सोचसहित अभियान अघि बढाइएको बताए। उनले ऐतिहासिक महत्त्व बोकेको महेन्द्र चोकलाई पुरानै स्वरूपमा फर्काउने उद्देश्य रहेको स्पष्ट पारे।

शालिक निर्माणका लागि आवश्यक रकम जुटाउन चन्दा संकलन गरिने तथा महेन्द्र चोकमा दान पेटिका र क्यूआर स्क्यानरसमेत राखिने जनाइएको छ।

मञ्चले इतिहास संरक्षण गर्नुपर्नेमा जोड दिँदै यस अभियानमा सम्पूर्ण विराटनगरवासी तथा सरोकारवाला सबैलाई सहभागी हुन अपिल गरेको छ। विगत आठ वर्षदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय रहँदै आएको मञ्चले यो अभियानलाई सामूहिक सहभागितामार्फत सफल बनाउने लक्ष्य लिएको जनाएको छ।

Sarita Karmakar