अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गर्दै

बिराटनगर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। बोलकबोल अनलाइन प्रणालीमार्फत गरिनेछ र ब्याजदर पनि प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ।

हाल आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूबाट कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। यसै कारण बैंकहरूमा निक्षेप वृद्धि भइरहे पनि लगानीको अवसर सीमित हुँदा अधिक तरलता देखिएको हो। यस्तो अवस्थालाई नियन्त्रण गर्न राष्ट्र बैंकले पटक–पटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।

राष्ट्र बैंकका अनुसार कुल निक्षेप ७८ खर्ब रुपैयाँ नाघिसकेको छ। बजारमा दीर्घकालीन तरलता बढी देखिएमा त्यसको व्यवस्थापन गर्दै ब्याजदर सन्तुलन कायम राख्न खुला बजार कारोबारअन्तर्गत निक्षेप सङ्कलन गरिँदै आएको छ।

आज सङ्कलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम तोकिएको सीमासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

Sarita Karmakar