अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि, आजदेखि लागू

बिराटनगर । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानी सवारीसाधनको भाडा बढाएको छ। बढेको भाडादर आज (बुधबार)देखि नै लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार यात्रुवाहक तथा मालवाहक सवारी दुवैको भाडा समायोजन गरिएको हो। भाडा निर्धारणका लागि प्रयोग हुने १३ वटा सूचकको आधारमा नयाँ दर लागू गरिएको विभागले स्पष्ट पारेको छ।

नेपालमा २०७२ सालदेखि वैज्ञानिक भाडा प्रणाली लागू हुँदै आएको छ, जसअनुसार इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था रहेको छ। यसपटक पनि इन्धन मूल्यमा आएको परिवर्तनलाई मुख्य आधार मानिएको विभागले जनाएको छ।

नयाँ व्यवस्था अनुसार अन्तरप्रदेश, अर्थात् एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा मात्र भाडा वृद्धि गरिएको हो।

यातायात व्यवस्था विभागले तोकेको आधारभूत भाडादरमा व्यवसायीहरूले सवारीसाधनमा उपलब्ध गराइने सुविधाका आधारमा अधिकतम २० प्रतिशतसम्म थप भाडा लिन सक्ने प्रावधान पनि रहेको जनाएको छ।

भाडा वृद्धिसँगै यात्रुहरूमा थप आर्थिक भार पर्ने देखिएको छ भने व्यवसायीहरूले भने लागत वृद्धि भएकाले भाडा समायोजन आवश्यक रहेको बताएका छन्।

Sarita Karmakar