भूमि सम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
भूमि सम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले देशभरका नापी तथा मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार प्रतिभा रावल को निर्देशनमा बुधबार सचिवस्तरीय निर्णय गर्दै सम्बन्धित विभागमार्फत सबै कार्यालयलाई पत्राचार गरिएको छ। अब नापी तथा मालपोत कार्यालयमा सेवा लिन जाने व्यक्तिले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयहरूमा विभिन्न बहानामा अनधिकृत व्यक्ति प्रवेश गरी महत्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो बढेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। गोप्य तथा संवेदनशील कागजातमा अनियन्त्रित पहुँच बढ्दै गएको भन्दै मन्त्रालयले कडाइ गरेको हो।
निर्देशनमा कार्यालयका विभिन्न फाँटमा हुने भीडभाड र कागजात सुरक्षामा गम्भीर प्रश्न उठेकाले अनधिकृत व्यक्तिको प्रवेश रोक्न विशेष जोड दिइएको छ। यदि यस्तो प्रवेश नियन्त्रण नगरिएमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने चेतावनी पनि दिइएको छ।
मन्त्रालयले बिचौलिया निषेध गरेपछि सेवाग्राहीले आफ्ना निवेदन र कागजातका आधारमा सहज र पारदर्शी रूपमा सेवा पाउने विश्वास व्यक्त गरेको छ।
