आज विश्व अटिजम सचेतना दिवस
बिराटनगर। आज विश्व अटिजम सचेतना दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मस्तिष्क विकाससँग सम्बन्धित अटिजमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा फरक व्यवहार देखाउने गर्छ। अटिजम भएका व्यक्तिहरूको बोल्ने, बुझ्ने तथा सामाजिक अन्तरक्रिया गर्ने शैलीमा भिन्नता पाइन्छ।
अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घ को आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।
यस वर्ष पनि अटिजम भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको अधिकारको संरक्षण र प्रवर्द्धनमा जोड दिन सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ।
यसै अवसरमा जारी सन्देशमा एन्टोनियो गुटरेस ले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै अटिजम भएका व्यक्तिहरूको समाजमा समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।
