कञ्चनपुरमा विवाहमा गएका युवकको चक्कु प्रहारबाट हत्या

विराटनगर।  कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा सहभागी हुन गएका एक युवकको चक्कु प्रहारबाट हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास–५ का १८ वर्षीय उज्जल सायरमाथि गएराति छातीमा चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा राति करिब २ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय युवाहरूबीच भएको आपसी विवादका क्रममा घटना भएको हो। हत्यामा संलग्न भएको आरोपमा २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।

Sarita Karmakar