नेपाली व्यवसायिक एकताको सन्देश: न्यूयोर्कमा भव्य क्रुज डिनरसहित दोस्रो वार्षिकोत्सव सम्पन्न
न्यूयोर्क, अमेरिका । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले आफ्नो दोस्रो वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर शनिबार म्यानहाटनस्थित Horizon Edge Yacht मा विशेष क्रुज डिनर कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा उत्सव मनाएको छ। कार्यक्रममा कूटनीतिज्ञ, व्यवसायिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली डायस्पोराका उल्लेखनीय व्यक्तित्वहरूको व्यापक उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले न्यूयोर्कमा रहेका नेपाली उद्यमीहरूलाई एकीकृत गर्ने, सहयोग पुर्याउने तथा सशक्त बनाउने उद्देश्यले चेम्बर स्थापना गरिएको बताउनुभयो। उहाँले विगत दुई वर्षमा सहरका विभिन्न सरकारी निकाय, स्थानीय संस्थाहरू तथा व्यवसायिक समूहहरूसँग सहकार्य गर्दै नेपाली समुदायको आर्थिक विकास र व्यवसाय विस्तारका लागि बलियो आधार तयार गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कन्सुल जनरल दधिराम भण्डारी, डिस्ट्रिक्ट ३० की काउन्सिलवुमन जुली वोन, चेम्बरका सल्लाहकार अधिवक्ता खगेन्द्र जीसी तथा Fusemachines का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (CEO) डा. समीर मास्के लगायतले मन्तव्य राख्दै नेपाली समुदायको एकता, उद्यमशीलता र आर्थिक सशक्तीकरणमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य विशिष्ट अतिथिहरूमा NYC Department of Small Business Services का प्रतिनिधिहरू करेन वातानाबे र माटी याङ, कर्णेल रोहित राज गुरुङ, त्सेयाङ तेन्जिन, पेमा गेन्खाङ तथा थोमस स्ट्रोडेल लगायत रहेका थिए। वक्ताहरूले नेपाली समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
साँझभरि नेटवर्किङ, सांस्कृतिक कार्यक्रम, आकर्षक प्रस्तुतिहरू तथा स्वादिष्ट डिनरको व्यवस्थाले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। नेपाली नयाँ वर्षको उत्सवसँगै आयोजना गरिएको यो समारोहले समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा “Nepali American Business & Investment Summit 2026” को औपचारिक घोषणा गरिएको थियो। आगामी सेप्टेम्बर २६ र २७, २०२६ मा न्यूयोर्क सहरमा आयोजना हुने उक्त सम्मेलनलाई न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको सहयोग रहनेछ। अध्यक्ष श्रेष्ठका अनुसार यो सम्मेलन नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूबीच सहकार्य र लगानी विस्तारको महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सफलताका लागि Turkish Airlines, Voyzant, Viamerica Money Transfer, विभिन्न मिडिया साझेदार, कलाकार, प्रायोजक, सल्लाहकार, बोर्ड सदस्य तथा सम्पूर्ण समुदायप्रति चेम्बरले आभार व्यक्त गरेको छ।
नेपाली समुदायको एकता, आर्थिक प्रगति र सांस्कृतिक संरक्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले न्यूयोर्कमा रहेका नेपालीहरूबीच नयाँ ऊर्जा र उत्साह थपेको सहभागीहरूले बताएका छन्।

