इटहरी गोल्डकपको उपाधीको लागि गछिया युवा समाजलाई

सुनसरी। १६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १—० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधी जितेको हो ।

गछियालाई उपाधी जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामवाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेण्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुदै नगद १० हजार हात पार्न सफल भए । प्रतियोगिताको बिजेता टिम गछियाले नगद १० लाख रुपैया र उपबिजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयामा चिक्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैया पुरस्कार पाए ।

प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए । गछियाका बिशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार रुपैया पुरस्कार पाए । प्रतियोगिता अवधीभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैया पुरस्कार पाए । राष्टिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए ।

अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६—१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसंग उपाधी भिडन्त पक्का गरेको थियो । पहिलो सेमिफाइनलमा गछियाले साबिक बिजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो ।

राष्टिय जागृती क्लबले आयोजना गरेको प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता चैत्र ३० गतेदेखी सुरु भएको थियो ।

Sarita Karmakar