कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, संसदीय दल नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौँ ।  नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइए पनि विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन। यद्यपि, नेपाली कांग्रेस भित्रका नेताहरूका अनुसार प्रतिनिधि सभाको संसदीय दलको नेता चयन प्रक्रिया बैठकको मुख्य चासोको विषय रहनेछ।

पार्टीले आजै संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यससँग सम्बन्धित रणनीति र सहमति निर्माणबारे बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, पार्टीको १५ औँ महाधिवेशनको तयारी, आन्तरिक व्यवस्थापन र देखिएका विवाद समाधानका विषय पनि बैठकका प्राथमिक एजेन्डामा रहनेछन्।

पछिल्लो समय पार्टीभित्र नेतृत्व, संगठन सुदृढीकरण र भावी रणनीतिलाई लिएर विभिन्न धार देखिएकाले आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Sarita Karmakar