चलचित्र ‘सारथी’ को शुभमुहूर्त, छायांकन बुधवारदेखि

बिराटनगर। निर्देशक कुमार गजुरेलको निर्देशनमा बन्ने चलचित्र ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा विधिपूर्वक शुभारम्भ गरिएको फिल्मको छायांकनका लागि निर्माण टोली म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ।

फिल्मको छायांकन वैशाख ९ गतेदेखि सुरु हुने जनाइएको छ। करिब ४० दिनको सेड्युलमा छायांकन सम्पन्न गर्ने योजना निर्माण पक्षको रहेको छ। चलचित्रका निर्माता वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ हुन् भने कार्यकारी निर्मातामा रदिप श्रेष्ठ र प्रदीप रायमाझी रहेका छन्।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा बन्न लागेको ‘सारथी’मा उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा देखिँदैछन्। करिब दुई दशकपछि यो जोडी पुनः एकसाथ पर्दामा फर्किन लागेको हो।

यसका साथै फिल्ममा कुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारको अभिनय रहनेछ।

Sarita Karmakar