विराटनगरमा स्रोत नखुलेको ५ लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा रहेको टोलीले बीआर ३८ एनएन १४३८ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारत, बिहार राज्यको अररिया जिल्ला जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरी रहेका छन्।

उनको साथबाट १ हजार दरका २ सय थान, ५ सय दरका ६ सय थान, १ सय, १० र ५ रुपैयाँका नोट गरी जम्मा ५ लाख १ सय १५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि चौधरीसहित नगद र मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

Sarita Karmakar