उदयपुरमा आगलागी र सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो
उदयपुर । उदयपुरमा भएको आगलागी र छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित लक्ष्मीनारायण खड्काको घरमा मंगलबार बिहान आगलागी हुँदा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट छिमेकी रवीन दास र सकल देवको घरमा समेत क्षति पुगेको छ।
आगलागी नियन्त्रणका लागि त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, प्रहरी र स्थानीयवासी खटिएका थिए। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। आगलागीको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, बेलका नगरपालिका–३ सातपत्रेमा गएराति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। बस्नेत सातपत्रेबाट रामपुर बजारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
