चितवनमा आर्थिक गणनाका लागि १३३ गणक परिचालन

बिराटनगर । आर्थिक गणनाका लागि जिल्लामा १३३ जना गणक परिचालन गरिएका छन्। आजदेखि स्थलगत तथ्याङ्क सङ्कलन कार्य सुरु भएको हो, जुन आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ।

आर्थिक गणना कार्यालयका अनुसार गणकहरू सातै स्थानीय तहमा खटिएका छन्। भरतपुर महानगरपालिकामा ७५ जना, राप्ती र कालिका नगरपालिकामा आठ–आठ जना, रत्ननगर नगरपालिकामा १९ जना तथा खैरहनी नगरपालिकामा १४ जना गणक परिचालन गरिएको छ।

त्यस्तै, माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा चार जना गणक खटिएका छन्। उनीहरूसँगै १७ जना सुपरीवेक्षकसमेत परिचालन भएका छन्। १८ वटा उद्योग समूहका आर्थिक इकाइलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली लिएर गणकहरू घरघर पुग्ने जनाइएको छ।

आर्थिक गणना २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेका छन्, जसमध्ये १७ हजार ४५ दर्ता भएका र १२ हजार १८४ उद्योग अदर्ता रहेका छन्। जिल्लामा ६२.६२ प्रतिशत उद्योग पुरुष स्वामित्वमा रहेका छन् भने ३७.३८ प्रतिशत उद्योगमा महिला व्यवस्थापकको संलग्नता रहेको छ।

यसपटकको गणनाले कृषि क्षेत्र बाहेकका विभिन्न आर्थिक गतिविधिको विवरण सङ्कलन गर्नेछ। यसबाट प्राप्त तथ्याङ्कले देशको आर्थिक योजना तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

Sarita Karmakar