साम्बाको उपचारमा एन्फा पन्छिएको होइन : कतार र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको स्पष्टिकरण

बिराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारमा आफूहरू पन्छिन नखोजेको स्पष्ट पारेको छ।

साम्बाले उपचारमा एन्फाले सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेपछि एन्फाले सोमबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचारका लागि कतार फुटबल संघ र परराष्ट्र मन्त्रालय सँग समन्वय भइरहेको जनाएको हो।

एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा व्यावसायिक क्लब फुटबल खेल्दाको अवस्थामा खेलाडी घाइते भए उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको उल्लेख गरिएको छ। साम्बाको क्लब वेलिङटन फोनिक्स ले न्युजिल्याण्डमै उपचारको पहल गरे पनि उनले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको एन्फाले जनाएको छ।

एन्फाका अनुसार कतार फुटबल संघसँग औपचारिक पत्राचार भइसकेको छ भने अध्यक्ष पंकज विक्रम नेम्वाङले व्यक्तिगत रूपमा पनि पटक–पटक ताकेता गरिरहेका छन्। साथै साम्बाको आग्रहअनुसार सोमबार नै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै स्वास्थ्य उपचार तथा शल्यक्रियाका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गरिएको एन्फाले जनाएको छ।

एन्फाले खेलाडीको स्वास्थ्यप्रति आफू गम्भीर रहेको दाबी गर्दै विगतमा राष्ट्रिय महिला टोलीका प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरको सम्पूर्ण उपचार खर्च संघले नै व्यहोरेको उदाहरण पनि प्रस्तुत गरेको छ।

सम्बन्धित क्लबसँग सम्झौता अध्ययन गरी साम्बाको उपचारमा कुनै कमी आउन नदिन हरसम्भव प्रयास जारी रहने प्रतिबद्धता एन्फाले व्यक्त गरेको छ।

Sarita Karmakar