हिमानी ट्रस्टको २५ लाख सहयोग: “Brain Drain to Brain Gain” मार्फत महिलामा उद्यमशीलताको नयाँ ऊर्जा
काठमाडौँ । हिमानी ट्रस्टले “ब्रेन ड्रेन टु ब्रेन गेन” पहलअन्तर्गत कीर्ति नारीलाई माइक्रो–सीड सहयोग प्रदान गरेको छ।
आज आयोजित समझदारी पत्र (MoU) हस्ताक्षर समारोहमा हिमानी ट्रस्टकी अध्यक्ष श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाहको प्रमुख उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

Himani Trust ले रु २,५००,०००/- बराबरको सहयोग प्रदान गरेको छ। यस सहयोगले कीर्ति नारीलाई आफ्नो उद्यम विस्तार गर्न, रोजगार सिर्जना गर्न, सामुदायिक सशक्तीकरण गर्न तथा सामाजिक–आर्थिक प्रगतिमा थप योगदान पुर्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। समारोहमा वक्ताहरूले नेपाली महिलाहरूको क्षमता, सिर्जनशीलता र दृढताले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने धारणा व्यक्त गरे।

“ब्रेन ड्रेन टु ब्रेन गेन” पहल Princess Purnika Rajya Laxmi Devi Shah को प्रेरणाबाट सुरु गरिएको हो। यस पहलले विदेशतर्फ पलायन भइरहेका प्रतिभाशाली नेपालीहरूलाई स्वदेशमै अवसर उपलब्ध गराउने, देशभित्र नै आफ्ना सोच र सिर्जनशीलता प्रयोग गरी प्रभावकारी योगदान पुर्याउने लक्ष्य राखेको छ।

ट्रस्टका प्रतिनिधिहरूले यस कार्यक्रममा नेपालको स्थानीय उद्योगलाई प्रवर्द्धन गर्ने, नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्ने र उद्यमशीलतालाई मजबुत बनाउने उद्देश्य रहेको बताए। उनीहरूले नेपाली उत्पादन र विचारलाई प्राथमिकता दिएर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने र यसले देशलाई आत्मनिर्भर बनाउने दिशामा ठुलो योगदान पुग्ने बताए।

कार्यक्रममा सहभागीहरूले यस्ता पहलहरूले युवाहरूलाई स्वदेशमै केही गर्ने प्रेरणा दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य र विस्तारको आवश्यकता औंल्याए।
विशेषज्ञहरूका अनुसार, यो पहलले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने, सम्मानजनक रोजगारी सिर्जना गर्ने, र दीर्घकालीन रूपमा नेपालको दिगो विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
