राष्ट्रपति पौडेलको आह्वान : निर्वाचन उपलब्धिको रक्षा गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने ऐतिहासिक अवसर
काठमाडौं। रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी निर्वाचनलाई पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताएका छन्।
राष्ट्रपति पौडेलले निर्वाचन राजनीतिक इतिहासको जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको उल्लेख गर्दै यसलाई सफल बनाउनु सबैको साझा जिम्मेवारी र ऐतिहासिक दायित्व भएको स्पष्ट पारे। “यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो,” उनले भने।
उनका अनुसार मतभिन्नता लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान सबैको साझा मूल्य हुनुपर्छ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ ढंगले परिभाषित गर्दै मुलुकलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र मतदातालाई सक्रिय र जिम्मेवार बन्न आह्वानसमेत गरेका छन्।
