मोरङ–६ को विकाससँगै संविधान र लोकतन्त्रको रक्षा पहिलो अठोट : डा. शेखर कोइराला
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। यसै क्रममा मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवार रहेका डा. शेखर कोइराला ले संविधानको रक्षा, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
नेपाली कांग्रेस का वरिष्ठ नेता समेत रहेका कोइरालाले सार्वजनिक गरेको ८ बुँदे अठोटपत्र मोरङ–६ को समग्र विकास र मुलुकको समृद्धिसँग जोडिएको बताए। उनका अनुसार पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, सुशासन र युवामैत्री नीति प्राथमिकतामा छन्।
उनले मोरङ–६ को पहिलो आवश्यकता सडक, खानेपानी, स्वास्थ्य संस्था र विद्यालयको स्तरोन्नति रहेको उल्लेख गर्दै स्थानीय स्तरमै साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारे। उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध हुन नसक्ने बताउँदै कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।
युवालाई सीप, प्रविधि र लगानीसँग जोडेर स्टार्टअप कोष स्थापना गर्ने तथा प्राविधिक शिक्षा विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताए। “विदेश पलायन समाधान होइन, देशमै अवसर सिर्जना गर्नुपर्छ,” उनले भने।
मोरङ–६ लाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न लगानीमैत्री वातावरण, कर सहुलियत, सीपयुक्त जनशक्ति र पूर्वाधार विकास आवश्यक रहेको उनको भनाइ छ। उद्योग विस्तारसँगै स्थानीय अर्थतन्त्र बलियो हुने उनले बताए।
संविधान र लोकतन्त्रको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दा भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताको संस्थागत स्थायित्वका लागि संसदमा सशक्त आवाज आवश्यक रहेको धारणा व्यक्त गरे।
घरदैलो अभियानमा उत्साहजनक जनसमर्थन पाइरहेको दाबी गर्दै कोइरालाले कांग्रेसप्रति मतदाताको आकर्षण बढेको बताए। उनले यो निर्वाचनलाई मुलुकलाई राजनीतिक निकास दिने अवसरका रूपमा चित्रण गरे।
मतदातालाई अपिल गर्दै उनले मोरङ–६ को विकास, संविधानको रक्षा र समृद्ध नेपालको यात्राका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे। “यो चुनाव प्रतिनिधि छान्ने मात्र होइन, देशको भविष्य तय गर्ने अवसर हो,” उनले भने।
