देशलाई सही दिशा दिन सक्षम नेतृत्व आवश्यक : राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज
काठमाडौं । देशको वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता तथा स्थिर नेतृत्वको बहसबीच अबको प्रधानमन्त्रीका रूपमा राजेन्द्र लिङ्देन लाई अघि सार्नुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेको छ।
देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार तथा जनविश्वासको संकट अन्त्य गर्न सक्षम, इमान्दार र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै राजसंस्थाको पुनःस्थापना गरी कम्तीमा पाँच वर्षका लागि लिङ्देनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने धारणा सार्वजनिक भइरहेको छ।
समर्थकहरूको भनाइ अनुसार राष्ट्रको दीर्घकालीन हित, स्थिरता र सुशासन कायम गर्न व्यक्तिगत तथा दलगत स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई सर्वोपरि राख्नुपर्ने समय आएको छ। देशलाई सही दिशा दिन स्पष्ट दृष्टिकोण, दृढ इच्छाशक्ति तथा राष्ट्रप्रति समर्पित नेतृत्व अपरिहार्य रहेको उनीहरूको तर्क छ।
उनीहरूका अनुसार लिङ्देन स्पष्ट वक्ता, स्वच्छ छवि भएका तथा सबै वर्ग र समुदायको विश्वास जित्न सफल नेताका रूपमा स्थापित भइसकेका छन्। देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा आर्थिक विकासलाई गति दिन सक्ने नेतृत्वका रूपमा उनीप्रति जनविश्वास बढ्दै गएको दाबी गरिएको छ।
यद्यपि, राजसंस्थाको पुनःस्थापना तथा नेतृत्व चयन जस्ता विषय राजनीतिक रूपमा संवेदनशील र जनमतसँग प्रत्यक्ष रूपमा जोडिएका विषय भएकाले यस सम्बन्धमा विभिन्न धारणा र बहस जारी रहेको छ।
