राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुमोद रायद्वरा हल चिन्हमा मतदान गर्न आह्वान
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मोरङ क्षेत्र नं. ५ का उम्मेदवार कुमोद रायले आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहितको प्रचार सामग्री सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त सामग्रीमार्फत उनले राष्ट्र, धर्म, सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्रमुख प्राथमिकतामा राखेका छन्।

उम्मेदवार रायले नेपालको राजसंस्थाको पुनर्स्थापना तथा राष्ट्रिय सार्वभौम सत्ताको संरक्षण आफ्नो मूल लक्ष्य रहेको बताए । वर्तमान राजनीतिक संरचनाले देशलाई स्थायित्व दिन नसकेको दाबी गर्दै वैकल्पिक व्यवस्थाका रूपमा राजसंस्था पुनर्स्थापनाको एजेन्डा अघि सारेका छन्। साथै, सनातन धर्मप्रति सम्मान कायम राख्दै वैदिक सनातन हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।

घोषणापत्रमा उनले संघीय संरचनालाई महँगो र बोझिलो भएको उल्लेख गर्दै प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेका छन्। देशको आर्थिक अवस्था कमजोर हुँदै गएको, विकास निर्माणका कामहरू प्रभावकारी रूपमा अघि नबढेको तथा जनताले अपेक्षित सेवा नपाएको आरोप लगाउँदै उनले संघीयताको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

त्यसैगरी, देशमा बढ्दो भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार अन्त्यका लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने उनले बताएका छन्। जनताको करको दुरुपयोग रोक्ने, सरकारी संयन्त्रलाई चुस्त बनाउने तथा विकास निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्ने योजना पनि उनले अघि सारेका छन्।

मतदातालाई आफ्नो चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी अत्यधिक मतले विजयी गराउन आग्रह गरिएको छ। निर्वाचन प्रचारप्रसार समिति, मोरङ क्षेत्र नं. ५ ले जारी गरेको उक्त सन्देशमा राष्ट्रवाद, धार्मिक पहिचान र भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य आधार बनाइएको छ।
स्थानीय तहदेखि संघीय तहसम्म राजनीतिक अस्थिरता बढिरहेको अवस्थामा आफूले स्थायित्व र स्पष्ट दिशासहित नेतृत्व दिन सक्ने विश्वास उम्मेदवार रायले व्यक्त गरेका छन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा विभिन्न कार्यक्रममार्फत समर्थन जुटाइरहेका छन्।
आगामी निर्वाचनमा आफ्नो एजेन्डा र प्रतिबद्धताका आधारमा जनताले समर्थन गर्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।
