धादिङमा यात्रुवाहक बस दुर्घटना, १७ जनाको मृत्यु

विराटनगर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्।

बसमा ४५ जना सवार रहेको बताइएको छ। दुर्घटनापछि २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित स्थानीय बासिन्दाले उद्धार कार्य गरेका थिए। सबै घाइतेहरूको घटनास्थलबाट उद्धार गरिसकिएको जनाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sarita Karmakar